
साढे तीन वर्ष एभरेस्ट बैंक र अढाइ वर्ष किस्ट बैंकमा काम गरेका ३० वर्षे युवक एकाएक कृषि पेसामा होमिएका हुन् । उनले अहिले तीन जनालाई रोजगारीसमेत दिएका छन् । गाईका साथै बाख्रासमेत उनले पाल्न थालेका छन् । '२० माउ बाख्रा बनाउँदै छु,' उनले भने, 'यसका अलवा गड्यौला मल उत्पादन मेरो प्रमुख उद्देश्य छ । उनी अढाइ महिनामा ५० मेक्टि्रक टन मल उत्पादन हुन थालेको बताउँछन् । अहिले यो मलको मूल्य प्रतिकेजी १५ रुपैयाँ रहेको छ । 'माग अनुसारको उत्पादन गर्न सकिएको छैन,' उनले भने ।
काठमाडौंबाट एमबिएस गरेका लीलाराज एक जना गाई पाल्ने ऋणिलाई बैंकबाट ऋण दिने क्रममा लोभिएको बताउँछन् । 'यो नेपालका लागि अपरिहार्य पेसा हो, पढेलेखेका युवा कि त जागिर खाने कि त विदेश जाने, यो दुर्भाग्य हो, त्यसैले केही गर्नुपर्छ भनेर यता लागेको हुँ,' उनले भने ।
बजारमा दूधको माग र मूल्य दुवै भए पनि गाई नपाइने समस्या र दक्ष प्राविधिक आवश्यक परेका बेला नपाइनाले दुःख पाउने गरेको गुनासो उनले गरे । उनको र्फममा ७० हजारदेखि १ लाख रुपैयाँसम्म मूल्य परेका गाई छन् । जर्सी र होलेस्टेन जातका ती गाईले दैनिक १० लिटरदेखि १६ लिटरसम्म दूध दिने गरेका छन् ।
एउटा गाईलाई दैनिक चार सय रुपैयाँ खर्च लाग्ने पराजुलीले बताए । उनका अनुसार गएको फागुन महिनामा सबै खर्च काटेर ३८ हजार मुनाफा भएको छ । 'कम्तीमा अढाइ वर्षपछि मात्र राम्रो नाफा हुन्छ, त्यस बेलासम्म धैर्य गर्न सक्नु पर्छ,' उनले भने । उनले यतिबेला दुई बिघा जग्गामा उन्नत जातको घाँस लगाएका छन् । 'अब बंगुर पाल्ने सोचमा छु, त्यसबाट पनि राम्रो नाफा लिन सकिन्छ भन्ने मेरो बुझाइ छ,' उनले भने ।-ekantipur