नक्कली नागरिकता लिन खोज्ने भारतीय ज्वाइँ

cj
बाँके, जेष्ठ ९ - ज्वाइँलाई प्यार त सबैले गर्छन् । छोरासरहै मान्छन् । तर जिल्लाका तीन ससुराले यति धेरै माया गरे कि भारतीय ज्वाइँलाई छोरै बनाएर नागरिकता दिलाउन खोजे । त्यही कारण उनीहरू थुनामा छन् । नक्कली कागज बनाएर नागरिकता लिन/दिलाउन खोज्ने १२ जनाविरुद्ध प्रहरीले नागरिकता ऐनअन्तर्गत मुद्दा अघि बढाएको छ । जसमध्ये तीन जनाले भारतबाट ज्वाइँलाई बोलाएर नागरिकता दिलाउन खोजेको पाइएको हो । यस्ता नक्कली नाता प्रमाणित गर्नेलाई सुराकीका आधारमा प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । प्रहरीले पिपरहवा-४ का असलम कवाडियालाई गाविसबाट लिएको सिफारिससहित मंगलबार पक्राउ गरेको छ । उनले भारतीय ज्वाइँ रसिद कवाडियालाई छोरा बनाएर र अर्की महिला तसमिल कवाडियालाई छोरी बनाएर नागरिकता दिलाउन खोजेका थिए । रसिद र तसमिल पनि पक्राउ परेका छन् । भारत श्राबस्तीका ज्वाइँ आसराम गडरियालाई छोरा बनाएर नागरिकता दिलाउन खोज्ने वनकट्टी-६ का वृजमोहन गडरियालाई पनि प्रहरीले गाविसको सिफारिससहित पक्राउ गरेको छ । वृजमोहनले ज्वाइँका नाममा नेपालमा सम्पत्ति जोड्न यस्तो गरेको दाबी गरे । 'छोरी र ज्वाइँ मेरै गाउँमा बस्दै आएका छन् । मजदुरी गरेर किनेको एक/दुई कठ्ठा जग्गा उनीहरूको नाममा गराउन नागरिकता चाहिन्छ,' उनले भने, 'ज्वाइँ यतै बस्ने भनेपछि छोरा बनाएर गाविसबाट सिफारिस लिएको हुँ । तर, नागरिकता बनाउन नपाउँदै प्रहरीले पक्राउ गर्‍यो ।' त्यस्तै, भारतीय ज्वाइँ सोहन धोबीलाई छोरा बनाएर नागरिकता दिलाउन खोज्ने उढरापुर-६ की मानेसारा धोबी पनि पक्राउ परेका छन् । ज्वाइँ भारत बहराइचका भए पनि यहाँ सँगै बस्ने भएकाले छोरा बनाएर नागरिकताको सिफारिस लिएको बताए । 'तर फसियो,' उनले भनिन्, 'यस्तो काम गरे कारबाही हुन्छ भन्ने थाहै थिएन ।' यसैगरी भारतीय नागरिक होलीराम चाई र उनी नेपाली नागरिक भएको सनाखत गर्ने बेतहनी- ६ का लालजी चाई पनि प्रहरी थुनामा छन् । भारतमा बस्ने आफन्तलाई नेपालीले नै नागरिकता बनाउन सहयोग गरिरहेका बाँके प्रहरी प्रमुख भूपालकुमार भण्डारीले बताए । 'गाउँमा खटिएको टोलीबाट सजिलै नागरिकता दिलाउने सक्ने भ्रममा परेर नेपालीले नै यस्तो प्रयास गरेको पाइएको छ,' उनले भने, 'तर त्यस्तो हुन नदिन सतर्कता अपनाएका छौं ।' भारतीयलाई नागरिकता दिलाउन खोजेर 'रोटी-बेटीको सम्बन्ध' दुरुपयोग भइरहेको टिप्पणी स्थानीयवासीको छ । जिल्लामा नक्कली गरिकतासम्बन्धी ५५ उजुरी परेका छन् । (nepalupclose)

Share this

Related Posts

Previous
Next Post »

Love at First Sight