कलाकारका नाममा मोबाइल आतंक



‘तपाईं भाग्यमानी हुनुहुँदो रहेछ । तपाईं लक्की ड्रमा पर्नुभएको छ । तपाईं हामीलाई १ जुनमा कल गर्नोस् । हामी तपाईंलाई नेपालका कलाकार निमा रुम्बासँग लामो समय गफ गर्ने अवसर दिनेछौं ।’ केही दिनअघि यूएईमा रहेका धेरै नेपालीलाई ०५५५६७८१५७ बाट मोबाइलमा सन्देश आयो । आफ्नो मोबाइलमा आएको सन्देश देखेर धेरै नेपालीले आफ्नो मुलुकको चर्चित गायकसँग बसेर कुरा गर्ने सपना देखे । सन्देशमा प्राप्त जानकारीअनुसार उनीहरूले तोकिएको दिन उल्लिखित नम्बरमा सम्पर्कसमेत गरे । तर, आफ्ना प्रिय गायकसँग कुरा गर्न पाएनन् । बरु, प्रतिकल ७५ रूपैयाँभन्दा बढी गुमाए । निमा रुम्बाका नाममा हजारौं नेपालीका मोबाइल नम्बरमा एसएमएस मात्र गरिएको थिएन, उनकै जस्तो लाग्ने स्वरमा ‘म निमा रुम्बा, तपाईंहरूसँग १ जुनमा कुरा गर्न आउँदै छु । यो नम्बरमा कल गर्न नर्बिसनुहोला भन्दै अडियोसमेत बजाइएको थियो । यूएईमा रहेका नेपालीहरूलाई यस्तो प्रकृतिको सन्देश र टेलिफोन कल प्राप्त भएको यो नै पहिलो होइन । विभिन्न बहानाबाजी गर्दै यस्ता सन्देश यहाँ आइरहन्छन् । जुन सन्देश एउटा ठगीको माध्यम बनेको छ । यस्ता सन्देशले यहाँ धेरै नेपाली ठगिएका छन् । यस्तै, केही दिनअघि पनि पूर्वमिस नेपाल माल्भिका सुब्बासँग मन लागेजति कुरा गर्न पाइने भन्दै सन्देश पठाइएको थियो । आफ्नो इमेल बक्समा सन्देश देखेर धेरै नेपालीले पूर्वमिस नेपाल सुब्बासँग कुरा गर्न मोबाइल डायल गरे । उनीहरूले आफ्नो मोबाइलमा भएको रकम सके । तर, सुब्बासँग लामो कुरा गर्न त के, स्वर पनि सुन्न पाएनन् । बेलाबेलामा यहाँका नेपालीले बोकेका नम्बरमा डु, इतिसलाद दूरसञ्चार कम्पनी र केही नम्बरबाट सन्देश आउने गर्छ । तर, सन्देशमा उल्लेख भएबमोजिम न कुरा गर्न पाउँछन्, न त पैसा नै जोगाउन सक्छन् । विदेशी भूमिमा रहेर पनि नेपाली कलासंस्कृति एवं कलाकारितालाई माया गर्न नेपालीहरू पछि परेका छैनन् । तर, यसको फाइदा उठाउँदै सोझै लुट्ने काम भइरहेको छ । यस्तो खुलेआम लुट भइरहँदा पनि लुटिने क्रम रोकिएको छैन, बरु दिनप्रतिदिन बढिरहेको छ । यो लुटलाई रोक्न कलाकार स्वयं लाग्नुपर्ने यहाँका नेपालीहरूको भनाइ छ । झापा गौरादहका कुवेर बराल भन्छन्, ‘कलाकारहरूसँग संवाद गराउने भनेर जसरी नेपालीहरूको पैसा लुटिँदै छ, यसमा जो संलग्न भए पनि कारबाही गर्नुपर्छ । समयमै यसमा चासो नदिने हो भने अझै धेरै नेपाली लुटिनेछन् ।’ उनले आफ्नो मोबाइलमा प्राप्त सन्देशअनुसार सम्पर्क गर्दा ‘तपाईं वेटिङमा हुनुहुन्छ, लाइनमा बस्नोस्’ भनेर कम्प्युटर सन्देश प्राप्त भएको तर लामो समय कुर्दा पनि कुरा गर्न नपाएको, पैसा भने चढ्दै गरेको बताए । केही दिनअघि ०५५५६७८१४० र ०५५५९४२८०१ बाट पनि यस्तै सन्देश पठाइएको थियो । सन्देशमा नेपाली गीतसंगीत तथा चाहेको एफएम लाइभ सुन्न पाउने भनिएको थियो । तर, न कसैले नेपाली गीत संगीत सुन्न पाए, न लाइभ रेडियो नै सुन्न सके । स्याङ्जा वालिङका अशोक रेग्मीले भने, ‘कलाकारको नाम लिँदै मलाई कल गर्नोस्, तपाईंसँग कुरा गर्नेछु भन्दा सोझा र अशिक्षित नेपाली कामदार सहजै विश्वास गर्छन् । सोही विश्वास नै उनीहरूका लागि रकम ठगीको राम्रो माध्यम बनेको छ ।’ मेरी बास्सैका चर्चित कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ यसबारे जानकार छन् । कतिपय नेपालीले उनलाई कलाकारका नाममा आफूहरू ठगिएको गुनासोसमेत गरेका छन् । विदेशी भूमिमा सोझासाझा नेपाली ठगिएको सुनेर उनी चिन्तित बनेका छन् । हाल यूकेको भ्रमणमा रहेका घिमिरेले टेलिफोन सम्पर्कमा भने, ‘कलाकारको नाममा ठग्ने जोकोहीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ, कलाकारको इज्जतमा दाग लाग्ने र विश्वास घटाउनेमाथि कारबाही गर्न कोही पछि हट्नु हुन्न ।’ टीकाराम नेती÷राजधानी यूएई (आबुधाबी)

Share this

Related Posts

Previous
Next Post »

Love at First Sight