अर्ध स्वचालित (सेमी अटोमेटिक) राइफलसहित पक्राउ परेका पूर्व माओवादी लडाकु यमबहादुर थापाले गोली र पेस्तोल अवैध रुपमा राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रशासन कार्यालयबाट हतियार राख्ने अनुमति पाए पनि दुरुपयोग गरेको र अवैध रुपमा गोली राखेको प्रहरीको राय–सुझाव सरकारी वकिल कार्यालय पुगेको छ।प्रहरीले वैशाख ४ गते नयाँ बसपार्कको मित्रनगरबाट थापा र उनकी साली अलिसा गुरुङलाई जिल्ला प्रशासन कार्यालयबाट लाइसेन्स पाएको राइफल, त्यसको ५३ राउन्ड गोली र अवैध पेस्तोलसहित पक्राउ गरेको थियो।
हतियार देखाएर धम्क्याउँदै रकम असुली गर्ने र ठेक्कापट्टा कब्जा गर्न सक्रिय भएको दाबी गर्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो।
थापाको नाममा हतियार नामसारी गर्ने सदिक्षा गौचनसँग प्रहरीले हतियार नामसारीबारे कागज गराएको छ। प्रहरीका अनुसार उनले हतियार नामसारी गरे पनि उनलाई गोली भने नदिएको प्रहरीलाई जानकारी दिएकी छिन्। थापाले भने गोली उनैले दिएको दाबी गरेका थिए।
स्रोतअनुसार थापाले प्रहरीले बरामद गरेको अवैध पेस्तोल आफ्नो नभएको दाबी गरेका छन्। बयानमा उनले पेस्तोल अलिसाको भएको दाबी गरे पनि अलिसाले भने थापाको कोठामा आफू बसेको र पेस्तोलबारे आफूलाई जानकारी नभएको बयान दिएकी छिन्। nk